‘जनयुद्द’ शब्दलाई लिएर देवेन्द्र पौडेल र योगेश भट्टराईबीच संसदमा सवालजवाफ
नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले जनयुद्धको अवमूल्यन गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले सचिव योगेश भट्टराईले जनयुद्ध शव्दप्रति आपत्ति जनाएपछि पौडेलले जनयुद्धको अवमूल्यन नगर्न र यस बिषयमा शव्दकोष पल्टाएर हेर्न सुझावसमेत दिए ।
जनताले लडेको युद्ध जनयुद्ध भएकाले जनयुद्ध अन्य कुनै जनावरकाबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति उनले आपत्ति जनाए । उनले १२ बुँदे सहमतिमा एमालेका नेताहरूले नै गरेको हस्ताक्षर गरेको नबिर्सनसमेत भट्टराईलाई आग्रह गरे । पौडेलले संसदको रोष्टममा आएर कटाक्ष गर्नुभन्दा गणतन्त्रको रक्षामा लाग्न सुझाव दिदै त्यसका लागि हातेमालो गर्न माओवादी तयार रहेको बताए ।
उनले सरकारको नीति तथा कार्यक्रम ताली पिटेरै बहुमतले पारित गर्ने जिकिर गरे । उनले अहिलेको समय शव्दजालमा रमाइलो गर्ने समय नभएकाले अर्थतन्त्र सुधार गरेर मुलुकलाई अघि बढाउने कुरामा एकताका साथ अघि बढ्नुपर्ने समेत बताए ।
यसअघि एमाले नेता योगेशकुमार भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द उल्लेखित भएको भन्दै असहमति जनाएका थिए । ७२ सालपछि कुनैपनि सरकारी दस्तावेजमा जनयुक्त शव्द उल्लेख नभएपनि प्रधानमन्त्रीले अहिले राष्ट्रपतिलाई जनयुद्ध शव्द उच्चारण गर्न लगाएको उनले बताए ।
भट्टराईले अहिले कार्यक्रमको १ नम्बर बुँदा कांग्रेसले स्वीकार्य गरे कांग्रेसलाई इतिहासले बिदा गर्न सक्ने अवस्था आउने चेतावनी दिए । उनले सरकारको कार्यक्रमलाई समेत स्वीकार गर्न नसकिने भन्दै यसलाई पुनर्लेखन गर्नुपर्ने बताए ।
सहमहामन्त्री जीवन परियारले सरकारको कार्यक्रम सकारात्मक भएको भन्दै आर्थिक तथा सामाजिक क्रान्ति गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । उनले नेपालको इतिहासमा कुनै नीति तथा कार्यक्रम पुनर्लेखन नगरिएको जिकिर गरे ।