प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने विच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकअघि लामिछानेले प्रधानमन्त्री निवास प्रधानमन्त्री बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
हाल रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकार छाड्ने कि नछाड्ने निर्णय हुने बताइएको छ ।
यसअघि शनिबार साँझ बसेको रास्वपाको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
रास्वपाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तावमाथि छलफल हुने र निर्णय लिइने बुझिएको छ ।
यसैबीच, बैठकपछि रास्वपाका सभापति लामिछानेले आज विषेश पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । सामाजिक सञ्जालमा लैख्दै उनले पार्टीको बैठकले ठोस निर्णय लिने र आफूले विषेश पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् ।
उनले भनेका छन्,‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।’