आइतबार, चैत १२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक

फ्ल्यासन्युज नेपाल२०७९ माघ २१ गते २१:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

बैठक आज शनिबार राति साढे ८ बजेपछि बस्दैछ ।

सत्तासाझेदार दलहरूलाई दिएको दुई दिने अल्टिमेटम सकिएसँगै रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।

दुई दिनअघि नै सरकारबाट फिर्ता हुने अनौपचारिक निर्णयमा पुगेको रास्वपा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहपछि दुई दिनको अल्टिमेटम दिएर रोकिएको थियो ।

तर, उक्त अल्टिमेटम सकिदासम्म पनि रास्वपाको माग सम्बोधनका विषयमा कुनै ठोस छलफल हुननसकेको परिप्रेक्षमा रास्वपाले आकस्मिक बैठक बोलाएको छ ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिदै आएको छ ।

नागरिकता विवादमा मुछिएर सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुन: गृहमन्त्री नबनाउने प्रधानमन्त्री प्रचण्डको अडानका कारण सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा सृजना भएको छ ।

गैरसांसदलाई पनि मन्त्री बनाउन मिल्ने व्यवस्थालाई टेकेर रवि लामिछानेलाई पुन: गृहमन्त्रीमा नियुक्त गरिनुपर्ने दबाब प्रधानमन्त्रीलाई छ ।

तपाइँको प्रतिक्रिया