गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए।
देश दक्षिणपन्थी दिशातर्फ नजाओस् भन्ने विषय महसुस गर्दै गठबन्धन दलसँगको सहकार्यलाई निरन्तरता दिने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए। ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्यौं। यस हिसाबमा गठबन्धन दलहरुसँगको हाम्रो जुन सहकार्य छ, त्यसलाई अघि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौं,’ उनले भने।
बैठकमा निर्वाचनको प्रारम्भिक परिणामको समीक्षासमेत भएको बताइएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा कानुनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए।