मंगलबार, माघ २४, २०७९

स्थिर समय अगावै सामाजिक सञ्जालका निर्वाचन प्रचार सामग्री हटाउनु : निर्वाचन आयोग

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक ३० गते २०:५४

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले बताउनु भयो । उहाँले निर्वाचन आचारसंहीता बमोजिम स्थिर समय शुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारहरुले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताउनु भयो । उहाँले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताउनु भयो । सहप्रवक्ता भट्टराईले स्थिर समय शुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताउनु भयो । उहाँले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहीता २०७९ बमोजिम मतदानको दिन भन्दा ४८ घण्टा अघिदेखि उम्मेदवार तथा राजनीतिक दलले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । त्यसलाई हामीले त्यो बेला आचारणको रुपमा व्याख्या गरेका छौँ । कुनैपनि माध्यमबाट मत माग्न नपाइने भनेको सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट समेत प्रचारप्रसार गरेर मत मागन नपाइने व्यवस्था स्पष्ट हो ।

यस सन्दर्भमा आयोगले १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाइने गरी निर्देशन जारी गरेको छ । त्यसपूर्व नै सामाजिक सञ्जालमा कुनै त्यस्तो विज्ञापन छ भने त्यो अवधि शुरु हुनुभन्दा अगावै त्यस्ता किसिमका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनसमेत आयोगले निर्देशन जारी गरेको छ । अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहीता २०७९ को उल्लंघन भएको ठहर गरी आयोगले निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्नेछ ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ ।

तपाइँको प्रतिक्रिया