धराने जनताका लागि खानेपानीको दीगो व्यवस्थापन नेकपा (एमाले) ले गर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धरानवासीलाई खानेपानीको दीगो व्यवस्थापन गर्न विभिन्न तीन वटा योजना अगाडि सारेका छन् ।
आज शुक्रबार धरानमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कोशी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी धराने जनताका लागि खानेपानीको दीगो व्यवस्थापन गर्ने योजना अगाडि सारेका हुन् ।
‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना र राष्ट्रिय बजेट चाहिन्छ, त्यसका लागि एमालेको सरकार चाहिन्छ,’ अध्यक्ष ओलीले भने, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरू ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरू गर्नेछौँ, काम सुरू गर्ने छौँ, स्थायी ढङ्गले पानीको समस्या समाधान गर्छौं, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’
कार्यक्रममा सुनसरी क्षेत्र नम्वर–१ का एमाले र जसपाका साझा उम्मेदवार अशोक राईले जसपा एमाले समीकरण दुईचार थान नेता बनाउन नभई देश बनाउन भएको बताए । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फेले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेको सरकार बन्नुपर्ने र त्यसका लागि सुनसरी–१ बाट अशोक राईलाई जिताउनुपर्नेमा जोड दिए ।