बिहीबार, माघ २६, २०७९

डोटीमा अझै परकम्प जानसक्ने चेतावनी

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २३ गते ९:२२

सुदूरपश्चिम प्रदेशको डोटीमा एकै रातमा चार म्याग्नेच्युडभन्दा ठूला तीन भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७, राति नै ९ बजेर ५६ मिनेटमा ४.१ र बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्नेच्युडको भूकम्प मापन भएको छ ।

‘चार म्याग्नेच्युडभन्दा ठूला तीन वटा भूकम्प गएका छन् । त्यसबाहेक ससाना परकम्प पनि छन्,’ केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भने, ‘गोरखा भूकम्पसँग यो भूकम्पको सम्बन्ध छैन, परकम्प होइन ।’

बुधबार बिहानको भूकम्पले डोटीको पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको छ ।अधिकारीले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन परकम्प जानसक्ने भएकाले सतर्क रहनुपर्ने बताए ।

‘ससाना भूकम्पले भविष्यमा ठूला भकम्प जान सक्ने जोखिम हुन्छ । तर, त्यहाँ (सुदूरपश्चिम) ठूलो भूकम्प जान्छ नै भनेर सकिने अवस्था हुँदैन । नेपाल नै भूकम्पीय दृष्टिले जोखिमपूर्ण रहेकाले सम्भावना रहन्छ,’ उनले भने, ‘सुदूरपश्चिम क्षेत्रमा केही दिन परकम्पत जान्छ नै । केही दिन सतर्कता अपनाउनुपर्छ ।’

सुदूरपश्चिमको बझाङ केन्द्रविन्दु भएर १४ साउन ०३७ मा गएको भूकम्पमा परी १७० जनाको ज्यान गएको थियो । त्यसपछि २१ पुस ०५३ मा बैतडी केन्द्रविन्दु भएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । बैतडीको भूकम्पले दार्चुलासम्म भौतिक क्षति पुर्‍याए पनि मानवीय क्षतिको भने रेकर्ड भएको थिएन ।

नेपालमा पूर्वीभन्दा मध्य र पश्चिम भेग तुलनात्मक रूपमा भूकम्पको उच्च जोखिममा छ । नेपालमा पछिल्लो पटक १२ वैशाख ०७२ मा गएको ७.८ म्याग्नेच्युडको भूकम्प र यसको परकम्पनले करिब नौ हजारको ज्यान लिएको थियो ।

तपाइँको प्रतिक्रिया