शनिबार, मंसिर २४, २०७९

दार्चुला पुगेर ओलीले भने– हाम्रो भूमि फिर्ता ल्याएरै छोड्छौँ

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १८ गते १९:२७

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याएरै छोडिने बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उनले नेपालको भूमि फिर्ता ल्याउनका लागि पनि देशमा एमालेको जित आवश्यक रहेको बताएका हुन् ।

चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामै पुगेर ओलीले भने, ‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनौँ ।’

भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उनले सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गरे । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग समेत उल्लेख गरे ।

दार्चुलामा भारतले मिचेको नेपालको भूमि फिर्ता ल्याउने उदघोष् गर्दै ओलीले भने, म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म मेची बगरको मान्छे महाकालीको पुल देख्छु । तर, शेरबहादुर देउवा देख्नुहुन्न । यही छ हामी दुईमा फरक ।’

ओली दार्चुलापछि बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए । उनले गठबन्धन सरकारको चुरीफुरी मंसिर ४ पछि सकिने घोषणा गरे । ओलीले भने, ‘मंसिर ४ पछि जनताले ‘गठबन्धन बाइबाइ, एमाले हाइहाइ’ गर्छन् ।

तपाइँको प्रतिक्रिया