मंगलबार, माघ २४, २०७९

कार्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज : निर्वाचन आयुक्त भण्डारी

फ्ल्यासन्युज नेपाल२०७९ असोज ३१ गते १५:५३

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

त्यसो गरेमा निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने उनले चेतावनी दिएका छन् ।

निर्वाचन आयुक्त भण्डारीले सोमबार निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारहरूले कोणसभा, आमसभा, सेमिनार गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको बताए । ‘अहिलेको बेलामा कोणसभा, आमसभा लगायतका गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषय निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन,’ उनले भने, ‘दलका प्रतिनिधिहरूको सहमतिमा समेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै भनेको कात्तिक १८ बाट निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरू गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ ।’

उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने भण्डारीले बताए । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उनले जानकारी दिए । ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको मसिनोसँग छानबिन गरिरहेका छौं । धेरै दर्जन स्पष्टीकरण पनि सोधिरहेका छौं । स्थानीयस्तरमा निर्वाचन अधिकृतहरूले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले घरदैलोसम्म गर्नका लागि आचारसंहिताले छुट दिएको हो ।

निर्वाचन आयोगले आचारसंहिता देखाउँदै अहिले घरदैलो मात्रै गर्न पाउन भनेपनि उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसार तीव्र पारेका छन् । कोणसभा, आमसभाका कार्यक्रम पनि तीव्र भएका छन् ।

तपाइँको प्रतिक्रिया