मंगलबार, माघ २४, २०७९

एमालेका ठूला १५ नेताका मनपर्ने निर्वाचन क्षेत्र

फ्ल्यासन्युज नेपाल२०७९ असोज २४ गते ११:५३

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो आइतबार देशभर मनोनयन दर्ता भएको छ ।

उक्त निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट मनोनयन दर्ता गराएका छन् । अध्यक्ष ओलीलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । उम्मेदवारी दर्ताका क्रममा ठूलो संख्यामा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट मनोनयन दर्ता गराएका छन् । नेता पोखरेलसँगै प्रदेशसभा सदस्यको लागि एमालेका दिपक निरौला र नारायण सिलवाल उम्मेदवारी दर्ता गराएका छन् ।

नेता पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा आफुसहित एमालेले अगाडि सारेका देशैभरका उम्मेदवारहरू विजयी हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो पार्टीले अघि सारेको विचार र विगतमा गरेको विकासका कामहरुको आधारमा जनताले विश्वास गर्ने र निर्वाचित गराउने विश्वास रहेको उनको भनाई छ ।

पोखरेल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए ।

त्यसैगरी उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल रूपन्देही निर्वाचन क्षेत्र नं. २, सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ र सुरेन्द्र पाण्डेले चितवन निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् ।

यसैगरी पार्टीका महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भई पोखरेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी उपमहासचिवद्वय प्रदीप ज्ञवालीले गुल्मी निर्वाचन क्षेत्र नं. १ र पृथ्वी सुव्वा गुरूङले लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

उपमहासचिव गुरूङ २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री भएर लोकप्रिय बनेका थिए ।

यसैगरी पार्टीका सबै सातै जना सचिवहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् ।

जसअनुसार सचिव लेखराज भट्ट कैलाली–४, टोपबहादुर रायमाझी अर्घाखाँची, गोकर्ण विष्ट गुल्मी–२, योगेश भट्टराई ताप्लेजुङ, छविलाल विश्वकर्मा रुपन्देही–१, पद्मा अर्याल स्याङ्जा–२ र रघुवीर महासेठले धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निश्चित सीटमा तालमेल गरी एक–अर्कालाई सघाउने सहमति भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि केही स्थानमा चुनावी तालमेल भएको छ ।

सोहीअनुसार एमालेका देशभरका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाइँको प्रतिक्रिया