आइतबार, असोज १६, २०७९

प्रधानमन्त्री देउवाले पत्नी आरजुको चुनाव प्रचार गर्न नपाउने

फ्ल्यासन्युज नेपाल२०७९ भदौ २८ गते २०:५४

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवाका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन् ।

निर्वाचन आचारसंहितामा भएको प्रावधानलाई निर्वाचन आयोगले कडाइका साथ लागू गर्ने भएपछि देउवाले आफूबाहेक अरुका लागि भोट माग्न नपाउने भएका हुन् । आयोगले प्रधानमन्त्री र मन्त्रीलाई आफूबाहेक अरुको निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा रोक लगाउने आचारसंहिता लागू गरेको छ ।

सत्तारुढ गठबन्धन सहितका दलहरूले प्रधानमन्त्री र मन्त्रीले सबैको प्रचार गर्न पाउनुपर्ने माग गरेपनि आयोगले आचारसंहिता परिवर्तन स्पष्ट गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६४ सालको निर्वाचनदेखि रहेको परम्परालाई परिवर्तन गर्न नसकिने जनाएका छन् ।

गत स्थानीय तह निर्वाचनमा समेत उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपरेको थियो । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यस्तै आचारसंहितामा सहमति जनाएका थिए । तर अहिले आफूले नै प्रचार गर्नुपर्ने भएपछि गठबन्धनसम्बद्ध दलले आचारसंहिता परिवर्तन गर्न आयोगलाई आग्रह गरेका छन् ।

निर्वाचन आचारसंहिता प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश प्रमुखको हकमा समेत लागू हुने आयोगले स्पष्ट पारेको छ । प्रधानमन्त्री देउवा आफू डडेल्धुराबाट उम्मेदवार हुने र पत्नी आरजुलाई कैलालीको ५ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउने तयारीमा छन् । यसअघि आरजु एमालेका उम्मेदवारसँग चुनाव हारेकी थिइन् ।

तपाइँको प्रतिक्रिया