प्रधानमन्त्री देउवा डडेलधुराबाट र पत्नी राणा कैलाली–५ बाट सर्वसम्मत सिफारिस
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् ।
यसैबीच उनकी पत्नी आरजू राणा देउवा कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट सर्वसम्मत सिफारिस भएकी छिन् । कांग्रेसका युवा नेता क्षितिज भण्डारीको आकांक्षालाई बेवास्ता गर्दै राणा पुनः उम्मेदवार सिफारिस भएकी हुन् ।
उनी यसअघि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । उनलाई नेकपा एमालेका उम्मेदवार नारदमुनी रानाले ४ हजार ८८० मतले पराजित गरेका थिए ।
२०७४ मा राणालाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेको पुष्करनाथ ओझाको चुनौती रहँदारहँदै उनी पुनः उम्मेदवार बन्ने भएकी छिन् ।