गृहमन्त्रीको पीएसओमाथि अनुसन्धान गरिरहेका छौँ : प्रहरी मुख्यालय
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाणको सुरक्षाका लागि खटिएका पीएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि छानविन गरिरहेको जानकारी दिएको छ ।
केही दिनदेखि विभिन्न छापा तथा अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित ‘सुन तस्करसँग गृहमन्त्रीका पीएसओ कार्कीको संलग्नता’ शीर्षकमा आएका समाचारहरूप्रति प्रहरी मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै उनीमाथि छानविन तथा अनुसन्धान भइरहेको जनाएको हो ।
मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘माननीय गृहमन्त्रीज्यूको ‘सुरक्षा समूह’मा खटिएका प्र.व.ना.नि. टंक कार्कीलाई तत्कालै नेपाल प्रहरी प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाइ निजउपर छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा अनुरोध गर्दछु,’ कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
छानविन तथा अनुसन्धानपछि पीएसओ कार्की दोषी देखिए कानुनबमोजिम कारबाही गरिने व्यहोरो पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।