बिहीबार, माघ २६, २०७९

संसदीय निर्वाचनमा एमालेले नजिते देश झनै बर्बादीतर्फ जान्छः अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७९ साउन १३ गते २१:०५

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय तथा प्रादेशिक निर्वाचनमा एमालेले नजिते देश झनै बर्बादीतर्फ जाने बताएका छन् ।

गृहजिल्ला झापामा रहेको अध्यक्ष ओलीले गठबन्धनले गरेको ज्याद्धती र मुलुकविरोधी सरकारका कार्यबारे उल्लेख गर्दै यस्तो बताएका हुन् ।

झापाको बिर्तामोडमा शुक्रबार आयोजित वृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई अहिलैदेखि निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिएका छन् ।

उनले एमालेका सबै संगठनलाई चुनावी तयारीका लागि लाग्न आग्रह गरे । ‘अब हाम्रा हरेक जनसंगठन टोलटोलमा संगठन, घरघरमा सदस्यको अभियान पूरा गर्न लाग्नुपर्छ,’ ओलीले भने ।

गत स्थानीय निर्वाचनमा एमालेको भोट बदर भएको स्मरण गर्दै अध्यक्ष ओलीले टोल टोलमा घर घरमा एमाले कार्यकर्ताहरु खटिनुपर्ने बताए । ‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गर्यो, बदर भयो। हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन । यति धेरै भोट कसरी बदर हुन्छ ?,’ ओलीले भने ।

अब एमालेले नै जनतालाई कसरी मतदान गर्ने भनेर सिकाउनुपर्ने आवश्यकतासमेत औंल्याए । ‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ । मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस् । अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस्,’ ओलीको भनाई थियो ।

उनले झापा जिल्ला आन्दोलनको उर्वर भूमि भएको स्मरण गर्दै नयाँ युगको सुरुवाता यहीँबाट भएको बताए । ‘यो जिल्ला लालकिल्ला पनि हो । २०४८ सालको निर्वाचनमा ‘मेची अञ्चल, चार जिल्ला, लालकिल्ला’ भनेर हामीले नारा लगाएका थियौं। अब फेरि लालकिल्लाको नारा लगाउने बेला आएको छ,’ ओलीले भने ।

त्यस्तै, उनले अब पार्टीभित्रै आफ्नैलाई हराउने कार्यमा लाग्नेमाथि कुनै छुट नहुने पनि स्पष्ट पारे । ‘स्थानीय निर्वाचनको परिणाम जे भयो, भयो । अब हामीले हाम्रो कमीकमजोरीलाई आफैँले महसुस गरी अघि बढ्नुपर्छ, सवैले आफैमाथि समिक्षा गर्नुपर्छ,’ ओलीले भने ।

उनले अहिले देशको अर्थतन्त्र ठप्प भए पनि सरकार गम्भीर नदेखिएको बताए । । अर्थतन्त्रमा तरलताको अभाव देखिएको छ । त्यसप्रति सरकार गम्भीर देखिएको ओलीको भनाइ छ ।

अध्यक्ष ओली शनिबार काठमाडौं फर्कनेछन् ।

तपाइँको प्रतिक्रिया