सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरियोः शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’
यसअघि माओवादीबाटै विधेयक रोक्ने कार्य भएको भन्दै पोखरेलले प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनु शंकास्पद भएको बताए ।
संसदबाट विधेयक पारित भएपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने ।
पोखरेलले आगामी साउन १६ गते नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने बताए ।
उनले सत्ता गठबन्धन र प्रधानमन्त्रीका लागि नेताहरु विदेश धाउन थालेको भन्दै यो लज्जाको विषय भएको टिप्पणी गरे ।
सरकार र गठबन्धन पूर्ण रुपमा असफल भएको र स्वार्थका लागि सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति बढेको पोखरेलको भनाइ छ ।