झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला
झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेका छन् ।
उनीहरुले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको पाठकले बताए ।
कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनीहरु तीनैजना शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।
उनीहरु चिया बगामा काम गर्दै आइरहेको थिए । उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताए पनि थप अनुसन्धान भइरहेको डीएसपी पाठकको भनाइ छ ।
तीनै किशोरले सामूहिक आत्महत्याको घटनाले गाउँ नै शोकमा डुबेको छ ।