शुक्रबार, माघ १३, २०७९

Sarbendra Khanal

फ्ल्यासन्युज नेपाल२०७९ असार १४ गते २०:३९

सत्य सेवा सुरक्षणमको धर्म सहित अघि बढेको नेपाल प्रहरीको योगदान मुलुकमा शान्ति सुरक्षा अमन चयनमा अतुलनिय रहेको छ । राज्यमा नभई नहुने शान्ति सुरक्षालाई मजबुद बनाउन प्रहरी प्रशासन अहोरात्र खटिरहेको छ । राज्यको नीति, नियम र कानूनमा आधारीत भएर प्रहरी प्रशासनले आफ्नो काम र जिम्मेवारी फत्ते गरिरहेको हुन्छ । काम गर्दाको शिलसिलामा प्रहरी नेतृवमा देखा परेका कमीकमजोरीको सर्वसाधरणहरु पनि खुलेर नै आलोचना गर्ने गरिरहेका हुन्छन् । प्रहरी संगठनमा कसको नेतृत्वले के काम गर्यो ? कसको योजना कस्तो थियो ? भन्ने कुराले पनि विशेष अर्थ राख्ने गर्दछ । पूर्व प्रहरी महानीरिक्ष सर्वेन्द्र खनाल जसले तीन दशक नेपाल प्रहरीमा रहि मुलुककको सेवा गरे । पूर्व माओवादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा भएकाे वार्तामा सुरक्षा प्रदान गर्ने,तराईमा रहेका सशस्त्र समूहलाई वार्तामा ल्याउने कार्यमा सुरक्षा भूमिका प्रदान गर्ने कार्यका साथै राजधानीमा माैलाउँदै गएकाे गुण्डागर्दीकाे अन्त्य गर्ने कार्य, र पेटोलियम पदार्थमाा छापा मार्ने कार्य आफ्नो कार्यकालमा गरे । देश विदेशमा नेपाल प्रहरीको शान र मान उच्च राख्न सफल नेसनपाटीले उनको कार्यकालमा नेपालको शान्ति प्रकृयामा नेपाल प्रहरीको भूमिका के- कस्तो रह्यो भन्ने सन्दर्भमा गरेकाे साक्षात्कारकाे सम्पादीत अंश:

सेवा निवृत्ति जीवनको अनुभव कस्तो हुँदो रहेछ ?

धेरै वर्ष सक्रिय रहें । ३० वर्षे कार्यकाल प्रहरी सेवामा रहेर प्रत्यक्ष रुपमा जनसमूदायको शान्ति र सुरक्षाका लागि काम गरें । सेवा निवृत्तिको क्रममा मुलुकमा कोभिड १९ को महामारीले आक्रान्त रह्यो ।त्यसले गर्दा स्वभाविक रुपमा लकडाउनमै बस्नु पर्ने अवस्थाको सिर्जना भयो ।काम गरिरहेको बानी बसिरहँदा चाहिँ अलि असहज महशुस भयो । सामाजिक रुपमा केही गर्नुपर्छ भन्ने कुरामा कहिँ न कहिँ जुधिरहेको छु ।
प्रहरी नेतृत्वमा पुगेर पनि गर्न नपाएका र गर्न नसकिएका त्यस्ता कुरा पनि छन् ?
प्रहरी नेतृत्वमा पुगेर गर्न सक्ने जति वास्तविक रुपमा त सबै काम गरेको छु ।कुनै पनि काम छुटेको भन्ने त छैन् ।गर्न सक्नेमा आफै इमान्दर भई अहोरात्र प्रयास गरेकै हुँ ।समय खेर नफालिकनै गरेकै हुँ, कहिँ के बाँकी रह्यो कि भन्ने कुरामा चाहिँ कञ्चनपुरमा भएको निर्मला बलात्कार हत्याकाण्डको कुरामा लाग्छ । त्यो पनि मेरै मात्र जिम्मेवारी थिएन् । संस्थागत जिम्मेवारीको कुरा हो । त्यो पनि टुंग्याएर छोड्दिन पाएँ हुन्थ्यो झै लागेकै हो । त्यो विषयमा पनि कानूनी सिमितता थियाे । त्यो विषयमा प्रहरी एक्लैले समस्या समाधान गर्ने अवस्था थिएन् । त्यो बाहेक मलाई केहि बाँकी रह्यो जस्तो लाग्दैन् । त्यो विषयमा पनि मलाई पश्चात किन लाग्दैन । मैले आफ्नो प्रयास सुरुका दिनदेखि नै गरेको हुँ । म आफैले १० वर्षपछि घटनाका दोषी पत्ता लगाएको छु ।हेमकरकाण्ड १७ वर्षपछि पत्ता लगाएको छु ।यहाँ बडिखेलको १२ वर्षपछि पत्ता लगाए । यस्ता घटनाहरु समाजमा भइरहन्छन् । तर यस्ता घटनाहरुबाट मलाई खासै पश्चातप लाग्दैन् । आफ्नो जिम्मेवारी ठूलो कुरा हो । जिम्मेवारी अनुसार काम निर्वाह गरेको छु ।

तपाई प्रति प्रहरी संगठन भित्र र बाहिरबाट धेरै अपेक्षा गरिएको थियो तर त्यो अपेक्षामा यहाँ खरो उत्रन सक्नु भएन् भन्ने टिप्पणीलाई चाहिँ यहाँलाई के लाग्छ ?
अँ एक थरि जमात हुँदो रहेछ प्रहरी संगठन भित्र मात्रै हैन, हरेक संगठनमै चोरी चकारी गर्न पाउने,बदमाशी गर्ने, लुटेरासँग हुने,कहाँ फाइदा हुन्छ भन्दै हिँड्ने र हंश आसनमा बस्न, विधि पद्धतीमा बस्न नरुचाउने समूह पनि हुन्छन् । त्यो समूह पहिले मेरा विरुद्ध सक्रिय थियो । अहिले पनि त्यस्ता समूह छन् नै ।त्यसकारण त हो नि शुद्धिकरण गर्नुपर्छ भन्ने । एउटा पाटो त्यो देखिन्छन् नै ! त्यो समूह लागिरहन्छन् र त्यो समूदाय समाजबाट बहिस्कृत हुन्छ र समाजमा चिनिरहेकै हुन्छ । कतिपय कुराहरु सुसंस्कृत बनाउने कुरामा चुकेका विषयवस्तुहरु पनि त्यो पृष्ठपोषण दिनु पर्ने हो । अर्काे चाहिँ अपेक्षित गरेको चाहिँ के हो ? त्यसको प्यारामिटर के थिए ? म एउटा महानीरिक्षकबाट अपेक्षा चाहिँ के हो भन्ने हो । शान्ति सुरक्षा,अमनयचन राख्ने हो ।सबैका क्रियाकलापहरु शान्ति प्रकृयाबाट चल्ने वातावरण राख्ने हो । प्रहरीको आइजीले गर्ने त्यहि हो । मैले कसैलाई पनि जवरजस्ती चन्दा उठान दिइन् ।जवरजस्ती मान्छे लुट्न दिइन् । अपधाराधीलाई माथि उठ्न दिइन् । गर्ने काम नै त्यहि हो ।यहाँ त अपेक्षा अपेक्षा भनेको छ । मानौं,त्यसमा मलाई राज्यले सबै अधिकार दिएको छ जस्तो गरिन्छ । एउटा प्रहरी महानिरीक्षको पनि निश्चित क्षेत्राधिकार हुन्छन् । त्यो क्षेत्राधिकारमा रहि मैले काम गर्ने हो । प्रहरी महानिरीक्षकको पदमा रहि गरेको काममा चाहिँ मैले कुनै कसुर नराखि काम फत्ते पारेको छु । ठगलाई कहिँ कतै उन्मुक्ति दिएन । रिपोटिगमा आएका जति सबै रिजर्व गरेरै गइयो । कसैलाई दुख दिनुपर्छ भनेर पनि लागिएन । कसैलाई झुटा मुद्धा पनि लगाइएन ।स्पष्ट थियौं हामी । बाटाघाटा बनाउनु पर्ने हो । मैले त त्यो पनि बनाएँ ।

नेतृत्वमा पुगेपछि अप्ठारो चाहिँ कहाँ हुँदो रहेछ ?

अप्ठ्यारो त आइरहन्छ ।कतिपय कुरा भन्न मिल्ने र नमिल्ने कुरा पनि छन् । अप्ठ्यारो त नेपालको परिवेश त्यहि हो । सामाजिक परिवेश त्यहि हो । भनसुन गरिदिनु पर्ने,लाभका कुरा गरिदिनु पर्ने तर ती विषय कहिँल्यै गरिएन । त्यसमा सोर्स,फोर्स लगाएर ठाउँमा जानै पर्ने,ठाउँ गएर पनि गलत कुराहरु फाल्नै पर्ने हुन्छ । फालेका कुरा पनि थुप्रै छन् । किन की मैले त राम्रो काम गर्न पठाएको हुन्छु । यदि कसैको अपराधीसँग साँटगाँठ भयो भने पनि जतिसुकै उच्च तहको अधिकृत भए पनि छोडिँन । नेतृत्व भित्र पनि सरुवा बढुवा देखि लिएर भनसुनका कुरा केहि नेताहरुको पनि मेरो चल्नुपर्छ भन्ने मानसिकता छ । नेताहरुको त के चल्ने हो र ? त्यहिसोचबाट ग्रसित छन् । उनीहरु त राज्यको सेवाका गर्ने हो । चुनौतीहरु त्यस्तै त्यस्तै हुन् । सिमित स्रोत र साधनकाबीच पनि प्रहरीले राष्टभर सुरक्षा दिनुपर्ने अवस्था छ ।साधन स्रोत प्रति राज्य र जनताको नजर पुगेको हुँदैन् । खालि भएन भनेर आलोचना मात्र आउने गर्छ । त्यो बीचको खाडल पनि छ । तर पनि सिमित स्राेत र साधनकाबीच शान्ति, सुरक्षा अमनचयन गरिएकै हो ।

तपाई अनपेक्षित रुपमा संसद अपहरण भनौं या ल्याउने लैजाने काममा संलग्न भएको आरोप लाग्यो, त्यो विषय निकै चर्चा र विवादास्पद पनि बन्यो। यो घटनालाई लिएर पछुतो लागेको छैन ? यस विषयमा यहाँको भनाई के छ ?

मलाई कुनै पश्चाताप छैन् । म कुनै निर्णय नलिकन हिँड्ने मान्छे पनि हैन् ।यहाँ देखि त्यहाँ पुग्दा १२ देखि १४ घण्टा बिताउनु पर्यो ।त्यत्रो समय के मैले सोचिन हुँला र किन गएको भन्ने विषयमा ? म आफै क्लियर छु ।छलफलका लागि गएको मध्यस्तकर्ताको भूमिकाका लागि गएको, सम्वादका लागि गएको हुँ।उनीहरुकै अनुरोधमा गएको ।यहिँ देखि तीन/ तीन जना संघीय सांसदका साथ गएको । उनीहरुकै पार्टीका प्रमुख सचेतक सहित गएको । हुँदै नभएको कुरालाई ल्याएर किन पश्चाताप मान्नु पर्ने हो र मैले ? मलाई त यहाँ मुलुक चलाउने भन्ने मान्छे कस्ता रहेछन् भन्ने पो लागेको छ ?मलाई त केहि पनि भएको छैन। म त जान्छु नि । मेरो देशमा मेरो राष्टमा म जाँदा त्यहाँ सम्भावना कुरा छन् भने,एक आपसमा सम्वाद नै नगर्नु पर्ने के छ र ?त्यस कारण मलाई केही पनि छैन् । म भनि पनि रहेको छु अरु मिडियामा पनि । म त्यत्रो वर्ष आइजी भएर बसेको मलाई थाहा छैन र ?

बारम्बार यो विषय किन आउँछ त ?

बारम्बार ल्याउने एकथरी गलत तत्व छन् । हिजो गलत तत्वहरु मेरो काम कार्बाही देखेर सुरक्षित रहेनन् । किन की हिजोका उनीहरुका गलत इच्छा चाहानाहरु मैले रोकिदिएको थिए । कहिँ पाइन्छ कि भन्ने उनीहरुको मनसाय पूरा नभएकै कारण उनीहरु मेरा विरुद्ध लागिरहेका छन् । नेपाल सरकारको सम्बन्धीत निकायले नै अनुसन्धान गरेर यो कुरा झुटा हो भनेर प्रमाणित गरिसक्दा पनि बारम्बार प्रश्न आउँछ । तपाईले पनि त्यहि प्रश्न गर्दै हुनुहुन्छ । यो विषय त अब त्यहि गएर सोध्नुहोस् न ? के भएको हो भनेर ?मिडिया हावस भनौं या पत्रकार आफै न्यायालय र न्यायाधीश बन्न खोजेको जस्तो पनि लाग्छ । उता प्रहरी प्रशासन, सरकारी महान्याधीवक्ताको कार्यालयले यो झुटा मुद्धा हो भनेर आइसक्यो मलाई बारम्बार यहि प्रश्न आउँदा अच्चम लाग्छ ।

राजनीति नियुक्ती पाउने प्रलोभनका कारण पनि यहाँको व्यक्तित्वको निम्ति पनि असोभनिय लाग्ने यो विषयमा यहाँको संग्लग्न हुन पुगे भन्ने पनि छन् नि ?

तपाईले सोधेको जस्तै प्रश्न धेरैले गरे । अब यो विषय टुग्याँउनु पर्छ । म कसैसँग माग्न पनि गएको छैन् ।राष्ट्रकाे लागि मेरो आवश्यता छ भने अर्कै कुरा भयो ।हैन भने मेरो लागि त मैले खुला रुपमै भन्ने गरेको छु ।मलाई यो चाहियो भनेर हिड्या पनि छैन । काम गर्दा खेरी म आउँदा राम्राे हुन्छ भने किन डराउँछन् त ? म आउँदा खेरी बदमाशी तह लाग्छन् मुलुकको राम्रो हुन्छ भने,राम्रा मान्छे डराउनु पर्ने कारण चाहिँ किन ? म पनि छक्क परिरहेको छु । राम्रा मान्छे किन डराउनु पर्यो ।

यहाँको निकै जोशिलो भाषण सहितको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाएको थियो? यसको प्रयोजन के हो ?

यसको प्रयोजन केहि हैन । यो मुलुक राम्रा मान्छेले चलाउनुपर्छ । बदमाशहरु रैछन् भन्ने कुरा त्यसले पनि पाठ सिकायो । मुलुकका प्रधानमन्त्री चलाउने देखि लिएर अरु पनि दिउँसोलाई नै रात पार्ने, अनि जहिल्यै पनि जनतामाथि लादिने, शोषण गरिरहने अब यस्तो खाले चल्दैन भन्नेका लागि हो । हिजो त म एक प्रहरीमा थिए । त्यसको क्षेत्राधिकार भित्र रहेर मैले गर्न सक्ने राम्रा कार्य गरे । आफूलाई दिएको अधिकार पनि प्रयोग गरें । नचाहिँने दुरुपयोग गर्नेलाई तह पनि लगाएँ ।मेरा अधिकार उपयोग गरे । तर अब त नागरिकको हिसाबले यो मुलुकलाई ठूलो जिम्मेवारीका साथ राजनीतिक रुपमा चाहिन्छ भने,त्यो असल नेतृत्व प्रदान गर्नुपर्छ भनेर त्यस्ता गलत नेतृत्वलाई साइड लगाउनका लागि अब म उठेको हुँ ।त्यसकारण मैले सुरु गरिसकें । यति राम्रो मुलुकलाई सकैलाई बिगार्ने अधिकार कसैलाई पनि छैन् । भ्रष्टाचार , नातावाद,कृपावाद मौलायो,राजनीति गर्ने नाममा जे पनि गर्ने,अरुलाई सडाउने, अरुलाई बिगार्ने, राम्रो भन्ने मान्छे नै नहुने,आफै जस्तो बदमाश निकाल्न खोज्ने जुन किसिमको प्रवृत्ति अब त्यो अन्त्य हुनुपर्छ भनेर म निस्केको हुँ ।

यहाँको सक्रिय कार्यकाल र नेतृत्वको समयमा पनि इन्काउन्टरको घटना र चर्चा निकै भयो ?अपराध नियन्त्रणको क्रममा इन्काउन्टर आवश्यक छ ?

तपाई अहिले सोच्न सक्नु जहाँ गए पनि शान्ति छ । कोहि बस्न सक्ने स्थिती थिएन । इन्काउन्ट गर्न जान्छु भनेर प्रहरी जाने हैन । उ कसरी प्रस्तुत हुन्छ भन्ने कुराले अर्थ राख्दछ । उ हतियार सहित प्रहरी माथि आक्रमण गर्छ भने प्रहरीले हेरर बस्न पनि मिल्दैन् । हतियारलाई तह लगाउन त हतियार नै चाहिन्छ । घुँडा मुनी हान्दा खेरी कहिलेकाहीँ मान्छे जान सक्छ । पहिले त नियमसंगत नै हान्ने हो । अपराधी भाग्न खोज्यो, आक्रमण गर्न खोज्यो भने हान्न पाउँछ । त्यसमा त पुलिस भाग्न भएन नि त । अनि त्यस्ता अपराधी ढलेर पो शान्ति भयो हैन र ?
कानूनी शासन व्यवस्थामा इन्काउन्टरलाई अनुमति दिइदैन् ।तर पनि यस्ता घटनाहरुमा यहाँको नाम चर्चा सधैं हुने गर्छ। त्यसैले सर्वेन्द्र खनालले विधिको शासनको सट्टा सधैं पुलिस शासनको अभ्यास गरे भन्ने पनि आरोप छ नि ?

पुलिसलाई दण्डा हतियार त दिएकाे छ नि त । के त्यो खिया लागेर बस्नलाई हो र ? कि अपराधीको शासन चलाउनका लागि दिएको हो र ? त्यो त उपयोग गर्ने हो। त्यो उपयोग समाजका अपराधी तह लगाउनकै लागि हो । अपराधीले मान्छे मारेको, हिंसा उत्पन्न गरेको छ। दुनियाँलाई तर्साएको छ । अनि त्यसलाई नियन्त्रण गर्ने क्रममा दरो उपस्थितीका साथ विवेक पूर्ण निर्मताका र कानूनी कठोरता, विवेकपूर्णताका साथ गर्ने हो । अपराधी त्यस्तो अवस्थामा भाग्ने हैन । त्यस्तो अवस्थामा अपराधी भाग्ने हैन नि त प्रहरीले त्यस्तो अबस्थामा घुँडा मुनी हान्दा उपचारको क्रममा गयो होला । इन्काउन्टर गर्छु भनेर प्रहरी जाँदैन, विधिसँगत कामकार्बाही गर्दा कहिलेकाहिँ यस्तो हुनसक्छ ।

नेपालमा संगठित र संस्थागत अपराध त खासै देखिदैनन् तर पनि इन्काउन्टरको घटना किन हुन्छ ?
नेपालमा संगठित र संस्थागत अपराधको जालो थियो । तपाईले मुलुक हेर्नुभयो भने यहाँका जति पनि सशस्त्र संघर्ष देखि संगठनहरु छन् । तराईका सशस्त्र संगठनहरु त्यहाँ पहाडीयालाई लखेटेको तपाईका आँखाले देखेको कुरा अहिल्यै नै विर्सनु भयो र तपाई ?दुनियाँले विर्साे होला । तर हामी भोगेकाहरुले त्यति सजिलै कसरी बिर्सन सक्र्छाै ।समाजमा बस्न नस्कने अवस्था थियो । अहिले शान्ति र भाइचारा छ कसले गर्दा भन्ने हो भने अपराधी नियन्त्रण गरेर नै हो । काठमाडौंमा पनि गुण्डाहरुका कारण व्यापार व्यवसाय गर्न सक्ने अवस्था थिएन । अन्डर वल्र्ड सँग तीनिहरुको सम्बन्ध हामीले देखाइदिएका थियौं । यहाँबाट पैसा उठाएर राजनीति गर्नेहरु पनि छन् । मौका आए सबै कुरा खोलौला। ककसको कोसँग कन्केक्सन छ भन्ने कुराको प्रमाण सबै छ । सामान्य मम पसलले समेत यो कर बुझाए जस्तै बुझाउँथे । अहिले त्यस्तो अवस्था त छैन नि ।
नेपालमा राजनीति र समाजिक रुपमा कुन चुनौतीपूर्ण देखिन्छ ?

राजनीति र सामाजिक अपाराध दुवै सक्रिय अपराधको रुपमा रहेका छन् । गुण्डाको भरमा राजनीति गर्ने, सामाजिक कुसंस्कारको रुपमा पनि अपराध छ । दाइजो,बालबिबाहका विषयमा नेताहरु भन्दा हामी नै बढि बोलेका छौं । यी नियन्त्रण गर्न सबैको दायित्व उत्तिकै छ ।

प्रहरीका लागि राजनीतिको आडमा हुने अपराध अन्य अपराध भन्दा चुनौतीपूर्ण हुने गरेको छ भनिन्छ। यहाँको अनुभव के छ ?
राजनीतिक रुपमा आड भरोसा पाउँछु । राजनीतिक संरक्षण पाउँछु भन्ने अपराधी हुन्छन् । तर मैले त छोेडिन त । १० /१२ वर्ष देखि त्यत्रा मान्छे मारेर सांसद मन्त्री समेत भएका रौतहटको घटना हेर्नुहोस् । उनीहरुलाई पनि कानुनी कटघरामै लिएर हाल्यौ ।संवैधानिक निकायमा बसेका ठूला भन्ने व्यक्तिहरुलाई पनि छोडेनौं । गृहमन्त्रीका भाइदेखि निर्वमान सभामुखसम्मका घटना नियाल्नुहोस् न । सर्लाहीको तमसुकको घटना हेर्नसक्नु हुन्छ । राम्रा काम त सधैं छायामा पार्नु त भएन नि । कसैलाई पनि छोडिएन। तर यस्ता कुरा मिडियामा आउँदैनन् ।

नेपालमा मुख्य सुरक्षा चुनौती के के हुन ?
नेपालमा थुप्रै चुनौती छन् । मुख्यगरि खुला सिमाना, अपराधीलाई राजनीति करण गर्ने परिपाटी छ । जसको कारण प्रहरीले गर्ने व्यवसायिकतालाई विवादमा तान्ने गरियो । अर्काे कुरा प्रहरी भन्दा बढि अनुसन्धान गर्ने अरु निकाय भएर पनि भए । केहि पत्रकार पनि पहिले नै अनुसन्धान गरेर रिजल्ट निकाल्न थाले। आफ्नो पेसा व्यवसाय भन्दा अरुको पेसा व्यवसायमा बढि जान्ने परिपाटीको विकास हुनु पनि सुरक्षा चुनौती नै हो ।

प्रहरी संगठन र नेतृत्वले तत्काल र दीर्घकालिन रुपमा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?
कतिपय सुधार्नु पर्ने कानुनी कुरा पनि सच्याउनु पर्यो भनेर लेखेर पठाएकै छ । हाम्रो जस्तो मौलिक परिवेश भएका मुलुकमा कुन कुन कानून राम्रो छ। त्यसमा ध्यान दिनुपर्छ । युरोपको जस्तो कानुन राम्रो छ भन्दैमा यहाँ साधन र स्राेतले नभ्याउने,दक्ष जनशक्ति नहुने, अनि प्रहरी मात्रै राम्रो बन्ने भन्ने अपेक्षा मात्र राम्रो हैन् । नयाँ संघीता अनुसार अघि बढ्नसक्नु पर्छ । झुटा मुद्धा दिने व्यक्तिलाई पनि कानुनी कार्बाहीको कुरा छ । तर व्यवहारिक रुपमा लागू हुन सकिरहेको छैन् । ब्रिटेनको जस्तो कमन ल अनुरुप अघि बढ्नु पर्छ ।

यहाँको अनुभव र उर्जा राष्टको लागि अझै आवश्यक हुनसक्छ ।राष्ट्र प्रतिको यो योगदान अब कसरी पूरा गर्ने सोच बनाउँदै हुनुहुन्छ ?

राष्ट्र प्रतिको योगदानका सन्दर्भमा मुलुक राम्रोसँग चलाउनु पर्छ । यो देशलाई राम्रो नेतृत्व चाहिन्छ भन्ने मलाई अनुभुत छ । जनताको उत्साहका साथ जाने हो । जनताले पत्याएको अवस्थामा तपाईहरुले पनि सद्भाव राखेको अवस्थामा मुलुकको नेतृत्व नै गर्ने हिसावले जानुपर्छ भन्ने हो । त्यस तर्फ अघि बढ्छु ।

भनेपछि तपाई सक्रिय राजनीतिमा आउन खोज्नु भएको हो ?
मुलुकको मियो भनेकै राजनीति हो। राजनीति नसुध्रिदा सम्म त अरु सुध्रिने कल्पना गर्न पनि सकिदैन् । राजनीति प्रवृति सुधार्नका लागि पनि म राजनीतिमा आउन खोजेको हुँ । प्रधानमन्त्रीले पनि केहि सुध्रान खोज्नु भएको छ । उहाँको केहि सुधार्न खोजिरहनु भएको छ । उहाँ जस्तै नेतृत्वलाई साथ दिन पनि म राजनीतिमा आउनुपर्छ ।

तपाइँको प्रतिक्रिया