मेटमणि चौधरीको आरोप, प्रचण्डले नेकपा एसको निर्णय लागू गर्न दिएनन्
नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारणले मन्त्री हेरफेरको निर्णय लागु नभएको आरोप लगाएका छन् ।
चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको निर्णयलाई बेवास्ता गर्नुमा माओवादी अध्यक्ष प्रचण्डको हात रहेको बताएका हुन् ।
प्रधानमन्त्रीलाई प्रचण्डले प्रभावित पारेको चौधरीको दाबी छ ।
काठमाडौँमा जारी पोलिटव्युरो बैठककै क्रममा पत्रकारसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन् ।
गठबन्धनको ठूलो दलको सिफारिस नै कार्यान्वयन नहुने भएपछि सत्ता गठबन्धनमा बस्नुको औचित्य नहुने चौधरीको भनाइ छ ।
उनले कि त नेकपा एस चाहिँदैन भनेर प्रधानमन्त्रीले भन्नुपर्ने बताए ।
नेकपा एसकै कारण माओवादी अहिले सरकारमा रहेको र धेरै मन्त्री पाएको भन्दै उनले पार्टीको सार्वभौम निर्णयमाथि प्रचण्डले हस्तक्षेप गरेको बताए ।
उनले पार्टीले पठाएका मन्त्रीहरूले गैर जिम्मेवार व्यवहार देखाएको भन्दै उनीहरू मन्त्री बन्ने बेला जुन ठाउँमा निर्णय भएको हो अहिले पनि त्यही ठाउँबाट भएको बताए ।
६ महिनाका लागि मन्त्री बनेकाहरूले ९ महिनासम्म खाएको भन्दै नैतिकता भए पार्टीले निर्णय गर्नासाथ राजीनामा गर्नुपर्ने चौधरीले बताए ।