बिहीबार, माघ २६, २०७९

मन्त्री आलेलाई तत्काल बर्खास्त गरियोस् : वायुसेवा निगमका कर्मचारी र संघ–संगठन

फ्ल्यासन्युज नेपाल२०७९ असार ५ गते ८:२४


नेपाल वायुसेवा निगमभित्रका विभिन्न कर्मचारी संघ संगठनहरुले पर्यटन मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले पदीय मर्यादा र आचरणविपरित पटकपटक कर्मचारी भर्तीको दवाव दिँदै निगमका कार्यकारी अध्यक्षमाथि हातपात गर्नु दुःखद भएको बताएका छन् ।

नेपाल वायुसेवा निगम कर्मचारी संघ, नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै निगमलाई धरासायी बनाउने उदेश्यले सयौँ संख्यामा कर्मचारी भर्तीको दवाव दिँदै कार्यकारी अध्यक्षमाथि अपशब्द प्रयोग र हातपात गर्नु दुःखद भएको बताएका हुन् ।

नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुन र महासचिव नेत्रराज राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट नियुक्ति भई आएका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई मन्त्रीबाटै हातपात हुनु निन्दनीय घटना भएको बताउनुभएको छ ।

निगमको वित्तिय अवस्थामा समेत सुधार भइरहेको अवस्थामा पर्यटनमन्त्री प्रेमबहादुर आलेले अध्यक्षलाई निगम विपरितका कार्यहरु गर्न दवाव दिने, अश्लिल गाली गलौज गर्ने साथै दुव्र्यवहार गर्ने घटनाको संघले खेद व्यक्त गरेको छ ।

मन्त्रीजस्तो व्यक्तिले निगमका अध्यक्षलाई दवाव दिँदै मन्त्रालयबाटै मासिक ज्यालादारीमा ८० भन्दा बढी व्यक्तिलाई नियुक्ति दिनु निगमजस्तो संस्थामा हस्तक्षेप गर्नु र राजनीतिक विकृति फैलाउने कार्य भएको बताएको छ । उक्त घटनालाई तत्काल छानविन गर्नसमेत संघले माग गरेको छ ।

यस्तै, नेपाल वायुसेवा कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले विज्ञप्ती जारी गर्दै निगमलाई राजनीतिक भर्तीकेन्द्र बनाउन खोजिएको बताउनुभएको छ । युनियनले कर्मचारी व्यवस्थापनका लागि पदपूर्ती सम्बन्धि विज्ञापन तथा वढुवा तत्काल अगाडि बढाउन, पुराना कर्मचारीलाई प्राथमिता दिई कार्यसम्पादनको नियुक्ति दिनुपर्ने बताएको छ ।

६४ वर्षसम्म अनवरत रुपमा स्वायत्त निकायका रुपमा सञ्चालित नेपाल वायुसेवा निगमलाई भर्तीकेन्द्र बनाउने मनसाय सहित निगमका कार्यकारी प्रमुखमाथि गरिएको निन्दनीय प्रयासप्रति युनियनले घोर भत्र्सना गरेको छ । युनियनले पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई बर्खास्ती गर्न माग समेत गरेको छ ।

यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायुसेवा निगमका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र शाहले विज्ञप्ती जारी गर्दै मन्त्री आलेले गरेको गालीगलौज तथा हातपातजन्य घृणित दुव्र्यवहारप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले लामो इतिहास बोकेको स्वायत्त संस्थालाई आर्थिक रुपमा कमजोर भएको बेलामा विभागीय मन्त्रीबाटै संयौँको संख्यामा कुनै विधि र प्रक्रिया नअपनाई कर्मचारी भर्ना गर्न आदेश दिनु खेदपूर्ण भएको बताउनुभयो । सो संगठनले मन्त्री आलेलाई तत्काल हटाउन सरकासँग आग्रह समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया