मंगलबार, माघ २४, २०७९

एसपीपी हामीले अस्वीकार गरेका थियौँ : अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७९ असार ३ गते १८:३५

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले अस्वीकार गरिसकेको निर्णय गठबन्धनले पुनः ब्युँत्याएको अध्यक्ष ओलीको भनाइ छ ।

स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण कार्यक्रमको दोस्रो दिन अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर प्रचण्ड प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो सरकारले कार्यदल गठन गरेर अस्वीकार गरिएको स्पष्ट पारे ।

ओलीले कोइरालाले रक्षामन्त्रीको हैसियतमा नेपाल पनि एसपीपी सहभागी हुन इच्छुक रहेको पत्र पठाएको जनाए ।

२०७२ असोज ५ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाइएको र सैनिक हेडक्वार्टरले कार्तिक १० गते त्यस बेलाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेखेको आफूले जानकारी पाएको ओलीको भनाइ छ । उनले भने, ‘यो पत्रको सिलसिला प्रचण्ड प्रधानमन्त्री भएका बेला २०७४ वैशाखमा पनि चलेको रहेछ । सामान्यतः सेनापतिले पत्र त्यसरी लेख्दैन, दूतावासलाई सेनापतिले होइन परराष्ट्र मन्त्रालयले, रक्षामन्त्रालयले लेख्ने हो । सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन । हाम्रो सरकार आएपछि गाइँगुइँ चल्यो । अमेरिकी सरकारको आइपिएस सम्बन्धी ३८ पेजमा पछिल्लो पटक नेपाल र श्रीलङ्का पनि संलग्न रहेको उल्लेख गरेपछि हामीले कार्यदल बनायौँ । त्यसलाई हेरेर कहाँबाट भयो,हामी भएका छैनौँ । जाने कुरा पनि आउँदैन । हाम्रो नीति पनि छैन भन्यौँ ।’

एसपीपीको विषयमा १० बुँदे सार्वजनिक भए आफूहरु नांगिने भएपछि प्रचण्डहरुले झुटा कुरा गर्न थालेको ओलीले बताए ।

तपाइँको प्रतिक्रिया