शुक्रबार, माघ १३, २०७९

काठमाडौँको फोहोरले महामारी निम्त्याउने चिकित्सकको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २६ गते १८:२६

काठमाडौँ उपत्यकाको फोहोर किरब तीन सातादेखि नउठ्दा सरुवा रोगका बिरामी बढ्न थालेका छन् ।

वर्षाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर कुहिएर दुषित बनेपछि झाडापखालालगायत सरुवा रोग बढेको चिकित्सकहरु बताउँछन् ।

सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा दिनप्रतिदिन झाढापखालाका बिरामी बढन् थालेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार हाल अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका छन् ।

अस्पतालको रेकर्डअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन् ।

काठमाडौँमा थुप्रिएको फोहोरकै कारण झाडापखालाका बिरामीहरु बढ्न थालेको स्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा.पुनले भने । झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् ।

फोहोरको तुरुन्तै व्यवस्थापन नभए थप जटिलता आउन सक्ने विज्ञहरुले सचेत गराएका छन् ।

तपाइँको प्रतिक्रिया