शुक्रबार, माघ १३, २०७९

६ सांसदसहित कांग्रेस प्रवेश गर्ने प्रेम आलेको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते १५:३८

एकीकृत समाजवादीबाट मन्त्री बनेको प्रेम आलेले पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् ।

आइतबार पार्टीको सचिवालय बैठकले हाल सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको थियो ।

त्यसलाई रोक्न पर्यटनमन्त्री रहेको आले र स्वास्थ्यमन्त्री विरोध खतिवडा पार्टी कार्यालय गएर अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

तर मन्त्री हेरफेर पार्टीको नियमित प्रक्रिया भएको र यसअघि नै ६ महिनाको लागि मात्रै मन्त्री बनाइएको अध्यक्ष नेपालको जवाफपछि आले र खतिवडा आक्रोशित बनेका छन् ।

एकीकृत समाजवादी भित्र विवाद यतिसम्म चुलियो कि मन्त्रीबाट हटाए आलेले पार्टी छोड्ने चेतावनी दिएका छन् ।

आलेले मन्त्रीबाट हटाइएको र नयाँ मन्त्री बनाउने निर्णय कार्यान्वयन भए तुरुन्तै पार्टी छोड्ने बताइएको छ ।

आलेले मन्त्री पदलाई म्यादी प्रहरीजस्तो नठान्न अध्यक्ष नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई उनले चेतावनी दिएका छन् ।

सोमबार बिहान नेपाल र मन्त्री आलेबीच फोन संवादका क्रममा सामान्य विवाद भएको पार्टीका एक स्थायी कमिटी सदस्यले जनाएका छन् ।

त्यस्तै, आइतबार राति नै ६ जना सांसदहरुले कोटेश्वर पुगेर अध्यक्ष नेपाललाई भेटेर आलेलाई नहटाउन आग्रह गरेका थिए ।

तर पार्टीका नेताहरुले भने मन्त्री बनाउने तथा फिर्ता बोलाउने निर्णय पार्टीको भएको भन्दै यसलाई सामानय लिनुपर्ने बताएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीकै केही सांसदहरुले भने माधव नेपालको कार्यशैली पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तै सल्लाह नगरी निर्णय लिने भएको भन्दै टिप्पणी गरेका छन् ।

आले निकट सांसदहरुले अध्यक्ष नेपाल सिमित मानिसहरुको माझ घेरिएको बताए । आलेले राम्रो काम गरिरहेको उनीहरुको दावी छ ।

आलेले प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न खोजिरहेका बालुवाटार स्रोतले दावी गरेको छ ।

मन्त्रीबाट हटाइने निर्णयसँगै आले आफूनिकट ६ जना सांसदहरुसहित कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।

तपाइँको प्रतिक्रिया