मंगलबार, माघ २४, २०७९

१६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते १४:३३

फेसबुकको सम्पर्कबाट भएको प्रेम सम्बन्धमा परेर बाँकेमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छन् ।

प्रहरीले किशोरीमाथि बलात्कारको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार भएको जनाएको छ ।

प्रहरीले किशोरी बलात्कारको अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ७ जनामध्यै एक जना १६ वर्ष र अन्य २३ देखि २५ वर्षसम्मका रहेका छन् ।

बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका प्रहरीले जनाएको छ ।

उनीहरुबीच फेसबुकबाटै प्रेम सम्बन्ध जोडिएको थियो । हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् ।

युवकहरुले भने जन्मदिन मनाउने भन्दै मदिरा आफू खाने र किशोरीलाई पनि खुवाएको प्रहरीले जनाएको छ ।

किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ–८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो । त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए ।

बेहोस अवस्थामै मोटरसाइकलमा लैजाँदै गरेको देखेर प्रहरीले सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो ।

तपाइँको प्रतिक्रिया