बिहीबार, माघ २६, २०७९

रेशम चौधरी र सिके राउतको पार्टीले सप्तरी र कैलालीमा जित्यो पालिका

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ५ गते ९:१३

कैलालीको टीकापुर नगरपालिकाको मेयर नागरिक उन्मुक्ति पार्टीले जितेको छ।
जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा केही महिनाअघि दर्ता भएको उक्त पार्टीले स्थानीय तह चुनावमा पहिलो जित हात पारेको हो।नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराएका हुन्। थारूले ९६४२ मत पाएका छन् भने रावलले ६६४२ मत पाए। निर्वाचित थारू टीकापुर-७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा अर्को पालिकामा पनि जित हात पारेको छ। बलान विहुल गाउँपालिकामा जनमत पार्टीका अध्यक्ष उम्मेदवार खेमचन्द्र यादवले जित हात पारेका हुन्। उनले २९९४ मत पाए भने दोस्रो भएका कांग्रेस उम्मेदवार नवीनकुमार झाले २२४७ मत पाए।
उपाध्यक्षमा पनि जनमत पार्टीकै रेणु यादव विजयी भएकी छन्। यादवले २६९० मत पाएकी छन् भने कांग्रेसकी आशदेवी मण्डल २३०४ मत ल्याएर पराजित भएकी छन्।

तपाइँको प्रतिक्रिया