मंगलबार, माघ २४, २०७९

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २९ गते २१:३५

बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघेलाई नियुक्त गरेको बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार पूर्व प्रधानमन्त्री रहिसकेका विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीका रूपमा आजै सपथ पनि लिएका छन्।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिको अभाव रहेको छ। महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो।

केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन्।

नयाँ प्रधानमन्त्री विक्रमासिंघे लामो समयदेखि राजनीतिमा सक्रिय छन्। यसपालि उनी छैठौं पटक प्रधानमन्त्री भएको बिबिसीले लेखेको छ। तर उनले कहिल्यै पनि आफ्नो पूरा कार्यकाल सम्हाल्न पाएका थिएनन्।

तपाइँको प्रतिक्रिया