बिहीबार, माघ २६, २०७९

स्थानीय तह निर्वाचनमा आयोगका १९ अनुगमन टोली, पैसा बाँडे तुरुन्तै कारवाही

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २७ गते २२:४२

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनबारे निगरानी राख्न १९ वटा अनुगमन टोली परिचालन गरेको छ ।

आयोगले कुनै पनि आचारसंहिता उल्लंघनको घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा टोली अनुगमनमा खटाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले तुलनात्मक रुपमा संवेदनशील ठानिएका स्थानमा १९ टोली परिचालन गरेको जानकारी दिए ।

त्यस्ता टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्तो देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि टोलीले तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउने प्रवक्ता पौडेलले बताए ।

मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न पनि नहुने आयोगले जनाएको छ ।

तपाइँको प्रतिक्रिया