आइतबार, असोज १६, २०७९

भदौ २५ देखि असोज ९ सम्म हुने तय भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २३ गते १४:२७

एसियन देशका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारीमा चीनमा बढिरहेको कोरोना भाइरसले असर गरेको ।

चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो ।

प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ।

यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय गरेको थियो । यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो ।

एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया