अन्तिम प्रयास विफल, कुनै अफरमा पनि गलेनन् जगन्नाथ
चितवन भरतपुर महानगरपालिकाको सत्तारुढ गठबन्धन उम्मेदवार बनेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई निर्वाचन जित्न निकै कठीन हुने देखिएको छ ।
सत्तारुढ गठबन्धनको निर्णय नमान्ने भन्दै चितवनका प्रभावशाली कांग्रेस नेता जगन्नाथ पौडेलको बागी उम्मेदवारी निष्क्रिय बनाउन खोज्ने सत्तारुढ दलको प्रयास विफल बनेको छ ।
अन्तिम पटक जगन्नाथलाई फकाउने कांग्रेस नेताहरुको प्रयास असफल भएको हो ।
जगन्नाथलाई फकाउन सत्तारुढ गठबन्धन हात धोएरै लागे पनि विफल भएका छन् ।
बिहीबार कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जगन्नाथले अडान कायम राखेका छन् ।
यसैबीच जगन्नाथले उम्मेदवारी फिर्ताको विषयमा सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न अस्वीकार गरे ।
रामचन्द्र पौडेलसँग करिब १० मिनेट भएको भेटमा उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गरे । उनलाई फकाउने क्रममा विभिन्न अफर गरिएको बताइएको छ । तर जनताले आफूहरुलाई पछि नहट्न भनेको भन्दै जगन्नाथले उम्मेदवारी फिर्ता नलिने अडान कायम राखे ।
भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उहाँको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहनुभएको मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गरेका थिए ।