शनिबार, माघ २१, २०७९

पौडेललाई फकाउन पुगेका गृहमन्त्री बालकृष्ण खाँण निरास

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १५ गते २२:१५

भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बनेका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन् ।

पौडेललाई फकाउन पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई पौडेलले उमेदवारी फिर्ता नलिने बताएका हुन् ।

बिहीबार खाँणसँग भएको भेटमा पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका हुन् ।

गृहमन्त्री खाँण पौडेललाई भेट्न भरतपुर–७ स्थित पौडेल निवास पुगेका थिए ।

आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए ।

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिती धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ ।’

गृहमन्त्री खाणले विभिन्न प्रस्ताव गरेको आशय व्यक्त गर्दै पौडेलले उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका हुन् ।

पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएसँगै खाँण काठमाडौँ फर्किएका छन् ।

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेटेका थिए ।

उनीहरुले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गरेका छन् ।

सत्तारुढ गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनाएको छ ।

तपाइँको प्रतिक्रिया