भरतपुरको मेयरमा छोरी रेणुलाई जिताउन प्रचण्डले रचे असफल प्रपञ्च
छोरी रेणु दाहालको भरतपुर महानगरपालिकामा मेयरको दोस्रो ‘इनिङ्ग्स’मा ब्रेक लाग्ने देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन प्रपञ्च रचेका छन्।
पहिलो, सत्ता गठबन्धनको बैठक राखी बागी उम्मेदवारलाई फिर्ता गराउने कडा निर्देशन ७ बुँदामा पास गराए। जुन, बुधबार सार्वजनिक भएको थियो।
दोस्रोचाहिँ आफैं चितवन सुटुक्क पुगेर स्थानीय कांग्रेस नेतालाई भेट गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभावशाली नेता जगन्नाथ पौडेललाई ब्याक सार्नका लागि लविङको हारगुहार गरेका थिए। स्रोतले भन्यो,‘प्रचण्डको हारगुहारका कारणले नै स्थानीय नेता पौडेल निवासमा उम्मेदवारी फिर्ता गर्न अनुरोध लिएर पुगेका थिए। तर, उनले मानेनन्।’
तेस्रोचाहिँ प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर जसरी पनि पौडेलको उम्मेदवारी फिर्ता लिन कन्भिन्स गर्न भनेका छन्। सोहीअनुसार देउवाले भरतपुरमा गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए।
त्यतिमात्र होइन देउवा स्वयम्, बरिष्ठ नेता रामचन्द्र पौडेलले टेलिफोन नै गरी पौडेललाई ब्याक सर्न भनेका थिए। प्रधानमन्त्री देउवाले त राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि चितवन खटाएका छन्।
भरतपुरमा एमालेबाट लोकप्रिय नेता विजय सुवेदीलाई उम्मेदवार बनाउँदा नै रेणुको पराजय हुने आँकलन गरेका बेला कांग्रेसका लोकप्रिय स्थानीय नेताहरू पौडेलको उम्मेदवारी दर्ता गराई मैदानमा उत्रिएपछि प्रचण्ड तनावमा आएका थिए।