गठबन्धन सरकार बालुवाको मुला हो–अध्यक्ष केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्। शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन्।
सानो मुलाको पनि जरा हुने भन्दै उनले अहिलेको सरकार पाँचजनाको परमादेशले बनेको र यसलाई उखेल्ने दिन कुरिरहेको टिप्पणी गरे। उनले उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने दाबी गरे।
‘मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ। यसको (सरकारको) त जरा न फरा, पाँचजनाले नियुक्त गरेको छ। जरा न फराको सरकार। केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ। बालुवामा लगेर राखेको नक्कली मुला, यसो एकछिन बालुवामा राखेजस्तो हो यो। फुत्त तान्दा जरोसरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ। हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ। भागेर कहाँ जान्छ ? चुनाव त गर्नैपर्छ,’ उनले भने।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गरे। कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै उनले सरकार ठिक की बेठिक छुट्याएर नबस्न आग्रह गरे।