अघि बढ्यो जबराको महाअभियोग प्रक्रिया, जबराले पाउनेछन् सफाइ दिने मौका
संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढाएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको हो, जसमा नेकपा एमालेका चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद छन् ।
महाअभियोग प्रस्तावमा जबरामाथि अदालतमा भ्रष्टाचार र विचौलियाले प्रवेश पाएको, संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको लगायतका २१ वटा आरोप लगाइएको छ ।
नियमावली अनुसार महाअभियोग सिफारिस समितिले कारबाही थालेपछि सात दिनभित्र जबरालाई आफूमाथि लागेको आरोपमा सफाइ पेश गर्ने मौका दिनुपर्छ ।
उनले पेश गरेको सफाइ सन्तोषजनक नभए वा तोकिएको समयमा आफैं उपस्थित भई सफाइ नदिएमा समितिले आफ्नो सिफारिससहित प्रतिवेदन संसदमा पेश गर्नेछ ।