शुक्रबार, माघ १३, २०७९

‘व्याख्यात्मक घोषणा’ लाई अमेरिकाले मान्यता दिएन

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १८ गते १९:४०

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट पारित गरेको छ ।

तर सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफूहरुलाई जनताको सामू राष्ट्रवादी देखाउन चालेको चाल व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिन अस्वीकार गरेको छ ।

एमसीसी मुख्यालयले नेपालको संसदबाट फागुन १५ मा अनुमोदन भएको कुरालाई मात्रै स्वीकार गरेको छ ।

वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्यालयले एमसीसी अनुमोदनलाई स्वीकारेको हो ।

तर मुख्यालयले नेपालले एमसीसीबारे गरेको व्याख्यात्मक घोषणाको बारेमा केही पनि उल्लेख गरेको छैन । अब एमसीसी कार्यान्वयनमा गएको भन्ने प्रतिक्रिया दिए पनि नेपालका दलहरुले गरेको व्याख्यात्मक घोषणाको बारेमा केही पनि धारणा मुख्यालयले राखेन ।

पत्रकार सम्मेलनमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले नै व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याएको बताएका थिए । त्यस्तै, उनले सत्ता र गठबन्धन जोगाउनका लागि यो उपाय ल्याएको पनि प्रष्ट पारेका थिए ।

प्रचण्डको दावी भनेको व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिन्छ अनि एमसीसी संशोधन हुन्छ भन्ने थियो । तर त्यसो भएन । यसको अर्थ अन्य पार्टीलाई फुटाएर राज गर्ने प्रवृत्तिमा मात्रै नभइ जनताको भावनामा समेत खेल्न माहिर प्रचण्डले यस पटक पनि जनताको आँखामा राम्रैसँग छारो हालेका छन् ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको छ,’ एमसीसीको मुख्यालयको विज्ञप्तिमा भनिएको छ ।

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा), नेपालको माग अनुसार ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरिएको थियो । एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी ‘व्याख्यात्मक घोषणा’ तयार पारिएको थियो ।

नेपालले एकतर्फी रुपमा तयार पारेको व्याख्यात्मक घोषणामा अमेरिका मौन रहनुको अर्थ त्यो घोषणा नेकपा एमालेका नेता भीम रावलले भ्रमात्मक घोषणा भनेझैँ भएको छ ।

सरकारसँग मिल्ने र एमसीसी पास गराउन खोज्ने अनि कार्यकर्तालाई सडकमा उतार्ने कार्यमा पनि अघि बढेका प्रचण्ढले जनतामा भ्रम व्याख्यात्मक घोषणाको उपाय ल्याएको प्रमाणित भएको छ ।

त्यस्तै, एक अन्तर्वार्तामा सत्ताको नेतृत्व गरिरहेको काँग्रेसका महामन्त्री गगन थापाले पनि व्याख्यात्मक घोषणा मान्न अमेरिका बाध्य नहुने बताएका छन् । व्याख्यात्मक घोषणामा नयाँ कुरा नभएको समेत नेता थापाको भनाइ छ ।

एमसीसी केही पनि संशोधन नभइकन कार्यान्वयनमा अघि बढेको छ । यसको परिणाम के हुन्छ पछि देखिएला । तर नेपालका दोहोरो चरित्र भएका नेताहरुको हर्कतले भने नेपाल र नेपालीको कदापि पनि हित गर्दैन । यसमा भने नागरिकहरुले सचेत हुन आवश्यक रहेको छ ।

तपाइँको प्रतिक्रिया