मंगलबार, माघ २४, २०७९

रहेनन् वरिष्ठ लोकगायक जयनन्द लामा

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ११ गते १०:३९

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो ।

बिहान करिब ३ बजेतिर लामा आफैले चलाएको कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा कारको ढोकामा खुट्टा अझिएर भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलु, लाहुरेको कर्म जस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

विसं २०३० मा पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया