चिनियाँ नागरिकसहित ३७ जना पक्राउ
फ्ल्यासन्युज नेपाल२०७८ फागुन १० गते १५:३९
दुई वर्ष पछि फेरी राजधानीबाट कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले सोमबार राती नयाँ बानेश्वरको एक घरमा छापा मारी पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।