प्रधानन्यायाधीश र एमसिसीका बारेमा दर्जन बढी एमाले सांसदहरुको एउटै धारण
नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमा पार्टीले सोच विचार गरेर निर्णय लिनुपर्ने बताएका छन् ।
बैठकमा घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विमला विश्वकर्मासहितका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने र एमसिसीबारे पार्टीले निर्णय लिनुपर्ने धाराणा राखेका थिए भने भिम रावलले संसदमा टेबल हुन लागेको एमसिसीलाई पार्टीले विरोध गर्ने र पास हुन नदिने गरि रणनीति बनाउन सुझाव दिए।
यस्तै खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटाले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएपछि आफूहरूले पनि काउन्टरमा अन्य न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताए । नेता कृष्णभक्त पोखरेल र लालबाबु पण्डितले फरक धारण राख्दै पार्टी काउन्टरमा जान नहुने कुरा व्यत्त गरेका थिए ।
नेता झपट रावलले आसन्न चुनावलाई मध्यनजर गरेर पार्टीले एमसिसी र प्रधानन्यायाधीश जबरा दुबैलाई बोकेर हिड्न नहुने धारणा राखे।
महाअभियोग दर्ता भएसँगै एमालेले आन्तरित छलफललाई तिब्रता दिएको छ । जबराविरूद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसिसी पारित गर्ने तीन कारणले आएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
यद्यपि प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ ।