शुक्रबार, माघ १३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड बालुवाटारमा

फ्ल्यासन्युज नेपाल२०७८ माघ २३ गते १६:२६

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न बालुवाटार पुगेकाछन्।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते बालुवाटार छोडेका ओली बालुवाटार फर्किएका थिएनन्। देउवाले यो बीच दुई पटक बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए। ती दुबै बैठकमा सबै दलका प्रमुखहरूलाई बोलाइएको भए पनि एमाले अध्यक्ष ओली आफू पनि गएनन् र पार्टीको तर्फबाट कोही प्रतिनिधि समेत पठाएनन्।

पुस २४ गते देउवा आफैं ओली निवास बालकोट पुगेका थिए। एमाले संसदमा निरन्तर अवरोध गरिरहने र सर्वदलीय बैठकको छलफलमा पनि सहभागी नहुने भएपछि प्रधानमन्त्री देउवाले ओलीसँग एक्लै कुराकानी गरेका थिए। देउवा बालकोट पुगेको एक महिनापछि ओली आज बालुवाटार आउन राजी भएका हुन्।

समसामियक विषयमा छलफल गर्न भनेर देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाएका हुन्।

प्रचण्ड र ओलीलाई बालुवाटार बोलाए पनि देउवाले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने बोलाएका छैनन्।

नेपाल सहभागी बैठकमा ओली नआउने भएकैले देउवाले यस्तो गरेका हुन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवा ४ बजेबाट देउवा, ओली र प्रचण्डबीच सुरु भएको हो । बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।

तपाइँको प्रतिक्रिया