शनिबार, माघ २१, २०७९

नेपालको जनसंख्याको प्रारम्भीक नतिजा सार्वजनिक- नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

फ्ल्यासन्युज नेपाल२०७८ माघ १२ गते ११:०६

 

काठमाडौँ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना(२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

१० वर्षको अवधीमा गरिने जनगणनामा यस पटक भने, जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

 

यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

 

तपाइँको प्रतिक्रिया