शनिबार, माघ २१, २०७९

राष्ट्रिय सभाको रिक्त सदस्यको आज निर्वाचन हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ माघ १२ गते १०:२४

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्यका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमार्फत बिहान ९ बजेदेखि मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुँदै छ । आयोगले प्रदेश १ मा दुई र अन्य प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ।आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।

प्रदेश २ मा महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी कुल दुई हजार २५ जना मतदाता रहेका छन् । मतदातामध्ये पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ । महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

तपाइँको प्रतिक्रिया