बिहीबार, माघ २६, २०७९

अमेरिकामा हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन

फ्ल्यासन्युज नेपाल२०७८ माघ ६ गते ११:५८

हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोह बीच हिमानी शाहले उद्घाटन गर्नु भएको छ ।

हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा शुभारम्भ गर्दा हिमानी शाहले पानसमा बत्ति बाल्दा पण्डित राजेन्द्र खनाल गुरुले मन्त्र उच्चारण गर्नु भएको थियो । समारोहमा हिमानी शाहले आफ्नो सँस्था र यसको सेरोफेरोमा चर्चा गर्नु भएको थियो भने संक्षेपमा ट्रस्ट(गुठी)को बारेमा पनि बताउनु भएको थियो । साथै सबै सहयोगी मनलाई धन्यबाद दिनु भएको थियो ।

उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका बिभिन्न शाखाका पदाधिकारी,स्थानीय सामाजिक अभियन्ता,बिदेशी पाहुना सहितको उपस्थितिमा विधिवत रुपमा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको छ ।

हिमानी शाहलाई पन्च कन्याहरुले पुष्प गुच्छा द्वारा स्वागत गरिएको थियो भने समारोहमा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाईएको थियो । समारोहमा हिमानी ट्रस्ट युएसए भर्जिनियाकी सुनिता खत्री तथा मेरिल्याण्ड शाखाकी केमिका भण्डारीले शाहलाई पुष्प गुच्छा प्रदान गरि स्वागत गर्नु भएको थियो ।

समारोहमा हिमानी ट्रस्ट युएसएका महा सचिव आनन्दु लामाले स्वागत मन्तब्य राख्नु भएको थियो । यसै गरि त्यहाँ उपस्थित हुनु भएका बिदेशी पाहुनाहरुले मन्तब्य राख्दै हिमानी शाहको हिमानी ट्रष्ट तथा उहाले सामाजिक सेवामा पुर्याएको योगदानलाई मुक्त कण्ठले सबैले प्रशंसा गर्नु भएको थियो । सबै बिदेशीले शुभकामना दिनुको साथै अमेरिकामा पनि हिमानी ट्रस्ट खुलेकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

समारोहमा बिदेशी अतिथिहरुमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि ,लाउडन काउन्टीका प्रतिनिधिहरु ,अमेरिकी विदेश बिभागका पूर्व पदाधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

समारोहमा महासचिव आनन्दु लामाले अमेरिकामा स्थापित शाखा र यसको बिस्तार बारेमा जानकारी हिमानी शाहलाई दिनु भएको थियो । साथै लामाले पदाधिकारीहरुलाई समेत परिचय गराउनु भएको थियो । हिमानी ट्रस्ट युएसएका अध्यक्ष हरि शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समारोहमा स्वयम सेवक,दाता तथा पदाधिकारीहरुलाई हिमानी शाहले समेत प्रशंसा पत्र वितरण प्रदान गर्नु भएको थियो । कार्यक्रम संचालन चर्चित संचारकर्मी रमा सिंहले गर्नु भएको थियो ।

शाह गत मंगलबारको दिन डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालबाट आई पुग्नु भएको थियो ।

विमानस्थलमा हिमानी शाहलाई भेट्न भर्जिनिया,वाशिंगटन डिसी ,क्यालिफोर्निया ,ओहायो ,टेक्सस ,कोलोराडो लगायतबाट पदाधिकारीहरु आउनु भएको थियो । क्यालिफोर्नियाबाट सामाजिक अभियन्ता तथा पदाधिकारीहरुमा क्रमस अनिल पाण्डे ,चीन थापा ,नारायण सोमनामे ,रबि सिंह बस्नेत आउनु भएको थियो । उहाहरु क्यालिफोर्निया भेटघाट पछि फर्कनु भएको छ ।

हिमानी शाहको अमेरिका अधिकारिक बसाई करिव २ हप्ता हुनेछ भने यस पटक उहा डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनु हुनेछ ।

स्मरण रहोस ,हिमानी ट्रष्ट युएसएका विभिन्न शाखाहरु खोलिएका छन् भने खोल्ने क्रम जारी रहेको छ । हिमानी ट्रष्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था हो ।

हिमानी ट्रष्ट : “धर्म, वर्ग, जाती, दल र सम्प्रदाय” भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला,अशक्त, वृद्ध, विधवा तथा वाल-बच्चाका साथै शिक्षा-स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था हो ।

तपाइँको प्रतिक्रिया