मंगलबार, माघ १७, २०७९

काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि बुस्टर डोज खोप दिइदैं

फ्ल्यासन्युज नेपाल२०७८ माघ ३ गते १०:३२

काठमाडौं । काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ। यसअघि हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।
सिरिन्जको मौज्दात
नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तुलनामा त्यसलाई लगाउन आवश्यक पर्ने सिरिन्जको मौज्दात निकै कम रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्।

तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलव ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ। कोभिडविरुद्धको फाइजर खोप लगाउन शून्य दशमलव ३ र अन्य खोपका लागि शून्य दशमलव ५ एमएलका सिरिन्ज आवश्यक पर्छ। सरकारले खोप अभियान चलाइरहेको समयमा अबको केही दिनमा नेपालमा बाहिरबाट सिरिन्ज नआउने हो भने कोभिड खोप लगाउन सिरिन्जको अभाव हुने देखिएको छ। तर, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले भने सिरिन्जको अभावको अवस्था आउन नदिन थप सिरिन्ज ल्याउने लागिएको बताउनुभयो ।

उहाँका अनुसार अबको एक साताभित्र ७३ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्ने छ । चीनबाट १० लाख वटा सिरिन्ज मंगलबारसम्म रसुवा नाकामा आइपुग्ने डा मरासिनीको भनाइ छ । यस्तै यूनिसेफबाट प्राप्त हुने १२ लाख ९६ हजार वटा सिरिन्ज कलकत्तामा आइसकेको छ ।

तपाइँको प्रतिक्रिया