बिहीबार, माघ २६, २०७९

नेपाली नर्सहरुलाई रोजगारीमा लैजानेबारे बेलायत र नेपालबीच सम्झौता हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १३:१५

काठमाडौं । बेलायत सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजानेसम्बन्धी सम्झौता भोली हुने भएको छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत पठाइने प्रक्रिया अगाडि बढ्नेछ । बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरे पनि पहिलो चरणमा दुई हजार नेपाली नर्सलाई पठाइने श्रममन्त्री श्रेष्ठले बताए । उनका अनुसार बेलायतले नर्स रोजगारीका लागि अंग्रेजी भाषामा निपूर्ण हुनुपर्ने सर्त राखेको छ । बेलायत सरकार र नेपाली सरकार (जिटुजी)मार्फत नर्सलाई रोजगारीका लागि पठाइने श्रममन्त्री श्रेष्ठले बताए । बेलायत सरकारको सर्तअनुसार जिटुजीमार्फत नै नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो ।

बेलायतले ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत नेपाली नर्सलाई लैजाने भएको हो । मन्त्रालयका अनुसार सरकारले नेपाली नर्सलाई शून्य लागतमा बेलायत रोजगारीका लागि पठाउने तयारी गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकार आफैँले व्यहोर्ने भएको छ । बेलायतमा नेपाली नर्स मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने मन्त्रालयले अनौपचारिक जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया