शनिबार, माघ २१, २०७९

नेपालमा कुल जनसंख्याको ५०.५ प्रतिशतले कोभिड विरुद्धको पहिलो खोप लगाए

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते ११:१२

काठमाडौं । नेपालमा कुल जनसंख्याको ५० दशमलव ५ प्रतिशतले कोभिड विरुद्धको पहिलो डोज लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म पूर्ण डोज लगाउनेको संख्या ३७.८ प्रतिशत छ। लक्षित जनसंख्याको ७८ प्रतिशतले एक डोज र ५८ प्रतिशतले पूर्ण डोज पाएका छन्।

बुधबार २ लाख १४ हजार ५७ जनाले खोप लगाएका छन्। पुस २६ मा २ लाख १० हजार ५९४, २५ गते ४५ हजार ४९३, २४ गते २ लाख ४३ हजार ४६०, २३ गते २ लाख ६३ हजार ३७१, २२ गते ३ लाख १६ हजार ७७४ र २१ गते २ लाख ४६ हजार ३८५ ले खोप लगाएका थिए। पुस १२ गते एकैदिन सबैभन्दा धेरै ५ लाख ६८ हजार ३१९ ले खोप लगाएपछि सरकारले दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो। पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप दिने सरकारको लक्ष्य छ। यो लक्ष्य हालसम्म बागमती र गण्डकी प्रदेशले हासिल गरेका छन्।

नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताउनुभयो । डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन कार्य अघि बढाएको बताउनुभयो ।

सङ्क्रमण बढेका क्षेत्रबाट अन्यत्र नफैलियोस् भनेर उच्च सतर्कताका साथ परीक्षण भइरहेको पनि उहाले बताउनुभयो । सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ । खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ ।

तपाइँको प्रतिक्रिया