शुक्रबार, माघ १३, २०७९

व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न बतासले दियाे सरकारलाई चुनौती

फ्ल्यासन्युज नेपाल२०७८ पुष २८ गते १३:३३

काठमाडौं । बतास अर्गनाइजेशनले नारायणहिटी प्रकरणमा छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ । बतास अर्गनाइजेशनले आज एक विज्ञप्ति निकाल्दै छानबिन समितिले सरोकारवालाहरुसँग सोधखोज नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन सार्वजनिक गरेको दाबी गरेको हो ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले सात बुँदे स्पष्टीकरणसहित विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पनि सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभएको छ । उहाँले बतास अर्गनाइजेशनका आधिकारिक मानिसहरुसँग कुनैपनि सञ्चार माध्यमले सम्पर्क नगरेरै, सत्यतथ्य नबुझेरै भ्रामक र कपोकल्पित समाचारहरु प्रकाशित गरेको बताउनुभएको छ । यस्तै कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको पनि उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

बतास अर्गनाइजेशनले विज्ञप्तिमार्फत नै आफूले गैर कानुनी ढंगले निर्माण कार्य गरेको भए कारबाही गर्न सरकारलाई चुनौती दिएको छ । ‘बतास अर्गनाईजेशनले कानुनसम्मतरुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति रहने छैन ।’

कानूनी परिधिभित्रै रहेर नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन प्रक्रिया अगाडि बढाएको भन्दै बतासले विषयलाई अतिरञ्जित गरिएको जनाएको छ । क्याफेटेरिया सञ्चालनका लागि आह्वान भएको टेण्डर प्रतिस्पर्धामा भाग लिएर आवश्यक प्रक्रिया पूरा गरी निर्माणको काम अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

मासिक २ लाख २१ हजार ६ सय १८ रुपैयाँ भाडा तिर्ने गरी विपिएस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच गत वर्ष पुस १७ गते सम्झौता भएको विषयलाई पनि तोडमरोड गरिएको बतासको आरोप छ ।

यो भाडा मासिक भए पनि केही सञ्चारमाध्यमले विर्षिक भनी प्रकाशन गर्नुमा नियत नै खोट देखिएको विज्ञप्तिमा उल्लेख छ । ३ करोडभन्दा बढी लगानीमा निर्माण गरिएका भौतिक संरचना नष्ट गरेर राज्यबाट नै गैरकानुनी र निन्दनीय काम भएको बतासले आरोप लगाएको छ ।

तपाइँको प्रतिक्रिया