बिहीबार, माघ २६, २०७९

एकै दिन थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ पुष २७ गते १६:४३

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहेको छ । पछिल्लो पटक २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो कूल परीक्षणको १६ दशमलब दुई पाँच प्रतिशत हो । हिजो १२ प्रतिशत बढीमा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय ८१ र ४ हजार ३ सय ८५ जनाको एन्टीजेन परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १ हजार २ सय ८६ जना छन् । जसमा काठमाडौंका ९ सय ८०, ललितपुरका २ सय २१ र भक्तपुरका ८५ जना छन् । उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा ८७ जनामा संक्रमण देखिएको छ ।

थप एक जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ पुगेको छ । पछिल्लो पटक ३ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या बढेर ९ हजार ५ सय २२ पुगेको छ । जसमध्ये ९३ जनाको आईसीयू र १९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक १ लाख ८० हजार ४ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया