शुक्रबार, असोज १४, २०७९

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १७:१९

काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । आज अन्तिम नामावली प्रकाशित भएसँगै रिक्त हुन लागेका १९ सिटका लागि ४३ जनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित मतदान केन्द्रहरुले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेका हुन् । मतदानका लागि सत्तारुढ गठबन्धन आवद्ध दल र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । १९ सिट मध्ये प्रदेश १ बाट तीन, प्रदेश २ र बाग्मतीबाट २÷२ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३÷३ जना निर्वाचित हुनेछन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार २५ जनाले मतदान गर्नेछन् । मतदानका लागि निर्वाचन आयोगले ७ प्रदेशमा ८ वटा मतदान केन्द्र तोकेको छ ।

निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह समेत प्रदान गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ । प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेदवारी दिएको छ । बागमती प्रदेश अन्तर्गत नेपाल मजदुर किसान पार्टीको पनि उम्मेदवारी रहेको छ ।

तपाइँको प्रतिक्रिया