शनिबार, असोज १५, २०७९

आज नेकपा एमालेकाे ६१ जिल्लामा अधिवेशन हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २३ गते १०:५८

काठमाडौं । नेकपा एमालेले ६१ जिल्लामा आज जिल्ला अधिवेशन गर्दै छ । प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ ।

यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको एमालेले जनाएको छ । आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ । सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपाका प्रवक्ता शेर बहादुर तामाङले बताउनुभयो ।

प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको ७ गते जिल्ला अधिवेशन हुने तय भएको छ । एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्नुहुने भएको छ ।

ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन्। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।

तपाइँको प्रतिक्रिया