बुधबार, मंसिर २१, २०७९

नारायणहिटीबाट बतास समूहलाई हटाएरै छोड्छौं- मन्त्री आले

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १५:१५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नाराहिटी दरबार भित्र रेष्टेरेन्ट खोल्न खोज्ने बतास समूहलाई हटाएरै छोड्ने प्रतिवद्धता दोहोर्याएका छन् ।

बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बतास समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताउँदै मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने बताए ।

मन्त्री आलेले भने , ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । उक्त विषयमा छानविन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति समेत गठन भइसकेको छ ।

तपाइँको प्रतिक्रिया