मंगलबार, असोज ११, २०७९

बतास समूहमाथि सरकारले छानबिन गर्दै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १०:५९

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा सरकारले छानबिन गर्ने भएको छ । बतास समूहद्वारा नारायणहिटी संग्रहालयको मूल गेटमा सञ्चालित रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिन गर्न सरकारले आज छानबिन समिति बनाउने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा आज छानबिन समिति गठन गर्ने तयारी छ । त्यसमा मन्त्रालयकै प्रशासन शाखा प्रमुख टेकनारायण पौडेल, कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा, लेखाका उपसचिव सूर्यमणि गौतमसहित ५ सदस्य राख्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

उक्त समितिलाई नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिइएकोबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न भनिने बताइएको छ । २०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखरास्थित बतास समूहको बी म्यानेजमेन्टलाई नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन गर्न दिन ३ वर्षको ठेक्का सम्झौता गरेका थिए । तर व्यापारीका मुनाफाका लागि ठेक्का दिइएको भनेर समाचार सार्वजनिक भएपपछि पर्यटनमन्त्री प्रेमकुमार आलेले ठेक्का तत्काल रोक्न निर्देशन दिइसक्नुभएको छ ।

तपाइँको प्रतिक्रिया