शुक्रबार, माघ १३, २०७९

सभापति देउवालाई काेइरालाकाे प्रश्न,केन्द्रीय सदस्यकाे मापदण्ड के हाे ?

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते १७:१२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।

आज नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो रु सो कुरा जान्न चाहेको भनि सभापति देउवालाई प्रश्न गर्नुभएको हो ।

उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिन सक्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनि प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाइ लाग्छ ।’

उहाँले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ । अहिले पार्टी संगठनभित्र कुटुता, विभाजन र असहयोगी भावना हामी कसैमा आउनु हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामकाविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडी बढोस् भन्ने चाहन्छौँ । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ । पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडीका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रक्रियाले पार्टीमा उर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।’

नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताउनुभयो । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उहाँले बताउनुभयो । पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विचमा जाने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अब आउने तिनवटा निर्वाचन हामीहरुको सम्मुख छ । नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौ भन्नेकुरा पनि तपाईहरुको माझमा म भन्न चाहन्छु । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरका साथीहरु सामु जानेछौँ । कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ ।’

उहाँले आफ्नो समूह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसकेपनि पार्टीभित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो ।

काठमाडौंस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समीक्षा गर्नुका साथै आगामी कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया